वीरगञ्ज । गितेन्द्रबाबु (जीबी) राई संस्थापक रहेको सहकारीहरूको समूहले बचतकर्ताको पैसा दुरुपयोग गर्दै नेटवर्किङ व्यवसाय चलाइरहेको पाइएको छ । नेपालमा नेटवर्किङ व्यवसायमाथि प्रतिबन्ध लाग्नु पूर्व देशकै सबभन्दा ठूलो नेटवर्किङ व्यवसाय ‘हर्बो इन्टरनेसनल’ का एक साझेदारसमेत रहेका जीबी राईले देशभर स्थापना गरेको करिब एक दर्जनभन्दा बढी सहकारीमा बचतकर्ताहरूले जम्मा गरेको १६ अर्बभन्दा बढी रकम दुरुपयोग गर्दै नेपालसहित ७ देशमा नेटवर्किङ व्यवसाय चलाइरहेको पाइएको छ ।
वीरगञ्जस्थित सानोपाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संस्थापक पनि उनै जीबी राई हुन् । झन्डै एक वर्षदेखि बचतकर्ताहरूको पैसा फिर्ता दिन नसकेको सानोपाइला बचत तथा ऋण सहकारी संस्थामा रहेको बचतकर्ताहरूको पैसा पनि अवैध नेटवर्किङ व्यवसायमा लगानी भएको हुनसक्ने शङ्का उत्पन्न भएको छ । सानो पाइलाको कुल निक्षेप १ अर्ब २० करोडभन्दा बढी छ । राई संस्थापक रहेको सानो पाइलाको अध्यक्ष उनका आफ्नै भाइ अनन्तबाबु राई हुन् ।
पटक–पटक समय लिएर पनि सानोपाइलाले बचतकर्ताहरूको पैसा फिर्ता गर्न नसकेपछि आन्दोलित हुँदै उनीहरूले सहकारीको कार्यालयले घेरेर पैसा फिर्ता गराइदिन वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसँग गुहार लगाएका थिए । बचतकर्ताहरूको हितलाई मध्यनजर गर्दै गत असार २४ गते मेयर सिंहले सानोपाइलाका संस्थापक जीबी राई, कोषाध्यक्ष कुमार रम्ते र वीरगञ्जस्थित सहकारीका कार्यालय व्यवस्थापन असरफ अलीलाई महानगरपालिका कार्यालयमा झिकाएर एक लाख रुपैयाँभन्दा कम निक्षेप भएका बचतकर्ताहरूको रकम तत्कालै फिर्ता गर्न निर्देशन दिएका थिए ।
मेयर सिंहले उनीहरूलाई आउने साउन १५ गते भित्र आफ्नो वित्तीय स्थिति खुल्ने श्वेत पत्र तयार गरी सार्वजनिक गर्न र सोको विवरण महानगरलाई बुझाउन पनि निर्देशन दिएका थिए । निर्देशनलाई पालना गर्छु भन्दै सहकारीका सञ्चालकहरूले लिखित सहमति पनि गरेका छन् । यद्यपि सहकारीले निर्देशन बमोजिम एक लाखभन्दा कम निक्षेप भएका बचतकर्ताहरूको पैसा फिर्ता नगरेको गुनासो आइरहेको छ । सानोपाइलाले साउन १५ गते भित्र श्वेतपत्र जारी गर्ने सम्भावना पनि न्यून नै छ ।
सनोपाइलाका संस्थापक जीबी राई र कोषाध्यक्ष कुमार रम्ते एक भन्दा बढी सहकारीमा सञ्चालक सदस्य छन् । तीन वटा सहकारी संस्थामा जीबी राई आफैँ अध्यक्ष छन् भने कुमार रम्तेल ४ वटामा छन् । जबकि सहकारी ऐन– २०७४ मा एउटा व्यक्ति एक समयमा एउटा मात्रै संस्थाको सञ्चालक हुनसक्ने व्यवस्था छ । तर, यो समूहले सङ्घ, प्रदेश र स्थानीय तह फरक–फरक नियामकअन्तर्गत सहकारी दर्ता गरेर सरकारलाई समेत झुक्क्याइरहेको छ ।
देशका अन्य स्थानमा सञ्चालित थप पाँच वटा सहकारीमा उनीहरूकै समूहका व्यक्तिहरू अध्यक्ष तथा सञ्चालक छन् । जीबी राईले आफ्ना दाजुभाइ अनन्तबाबु र देवेन्द्रबाबु राईलाई पनि सहकारीको सञ्चालकको जिम्मेवारीमा राखेका छन् । उनीहरूकै समूहमा रहेका आशिस आनन्द र असरफ अली सिद्धिकी एकभन्दा बढी संस्थामा एकसाथ सञ्चालक छन् । यो समूहको आबद्धता रहेको सबै सहकारी समस्यामा छन् । पछिल्लो एक वर्षयता कुनै पनि सहकारी संस्थाले निक्षेपकर्ताको बचत रकम फिर्ता गर्न सकेको छैन ।
सानोपाइलाका बचतकर्ताहरू त्यसको कार्यालय घेराउ गर्न पुगेका बेला त्यहाँका कर्मचारीले सहकारी मर्जरमा गइरहेको कारणले पनि पैसा फिर्ता गर्न ढिलाइ भएको बताएका थिए । कर्मचारीहरूका अनुसार सहकारी समस्यामा गएपछि समूहमै रहेको अर्को सहकारीहरूसँग सानोपाइलाले मर्जर प्रक्रिया थालेको जानकारी दिएका थिए । सानोपाइलाले जीबी राई अध्यक्ष रहेको हाम्रो नयाँ कृषि सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी, बुटवलको सुप्रिम, नेपालगञ्जको समानता र पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीसँग मर्जर गर्ने भन्दै सहकारी विभागमा फाइल पनि पठाएको छ । यद्यपि सबै सहकारीको समस्या समाधान नहुँदासम्म विभागले मर्जरको स्वीकृति दिन नसकिने बताउँदै आएको छ ।
समूहका अध्यक्ष जीबी राईले यसअघि पनि मर्जरको बहाना बनाएर कृत्रिम सम्झौता गरेको पाइएको छ । यसअघि समूहले काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी, खुसिबुस्थित लालीगुँरास बचत तथा ऋण सहकारी र जावलाखेलस्थित कल्याण उपकार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभबीच मर्जर गर्ने सम्झौता गरेको थियो । २४ भदौ २०७९ मा भएको मर्जर सम्झौता जीबी राई अध्यक्ष बन्ने सहमति भएको थियो । स्वर्णलक्ष्मीको अध्यक्षमा जीबी राई नै छन् भने अन्य दुईको नेतृत्वमा उनका ससुरालीतर्फका नातेदार हुन् । तत्कालीन गोर्खा विकास बैंकका अध्यक्ष तथा हाल गोर्खा सहकारीका सञ्चालक डीबी बम्जन जीबी राईका जेठान हुन् । राई र बम्जन समूहले देशभर सहकारीको सञ्जाल विस्तार गरेका छन् ।
मर्जर सम्झौता कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सङ्घका अध्यक्ष परितोष पौडेल पनि गएका थिए । तर, सहकारीमा समस्या देखिएपछि बचतकर्ताको आँखामा छारो हाल्न मर्जरको नाटक गरिएको र त्यसमा सहभागी गराएर आफूलाई फसाइएको अनुभव भएको उनले बताए । ‘सङ्गठित रूपमा देशभरि सहकारी चलाउने र समस्यामा सिर्जना गर्नेहरूले नै सहकारी बदनाम गराएका हुन्,’ उनले भने ।
गोर्खा समूहका अध्यक्ष रम्तेल भने समूहअन्तर्गतका सहकारीहरूको एउटा संस्था बनाउँदा नेतृत्व र काम गर्न सजिलो हुन्छ भनेर मर्जर गर्ने प्रयास गरेको बताउँछन् । एक अनलाइन पोर्टलसँगको कुराकानीमा उनले भनेका छन्, ‘संस्था एकीकृत गर्दै बचतकर्तालाई विश्वास दिलाएर समस्या समाधान गरेर अगाडि बढ्ने भनेको हो, तर उक्त योजना पूरा भएको छैन ।’