रात परेपछि चोर–तस्कर सक्रिय, प्रहरीको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न; निक्कामापन हो कि ‘सेटिङ’ ?
वीरगञ्ज ।वीरगञ्जको मुख्य सहरी क्षेत्र र सीमा आसपासको सुरक्षाको जिम्मेवारी बोकेको वडा प्रहरी कार्यालय बिर्ताको रात्रीकालीन सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठ्न थालेको छ । प्रहरी कार्यालयकै आसपास तथा पछाडिको क्षेत्रमा समेत चोरीका गतिविधि बढ्दै जान थालेपछि प्रहरीको सक्रियतामाथि स्थानीयले प्रश्न उठाएका हुन् ।
दिनभर सुरक्षा र अपराध नियन्त्रणको जिम्मेवारीको चर्चा गर्ने प्रहरी रात परेपछि भने ‘मस्त निद्रामा’ जाने गरेको स्थानीयको आरोप छ । प्रहरी कार्यालय बिर्ताकै आसपासमा तार चोरी गर्ने गिरोह सक्रिय देखिनु र विभिन्न स्थानमा चोरीका घटना दोहोरिनुले प्रहरीको गस्ती तथा निगरानी कति प्रभावकारी छ भन्ने प्रश्न खडा भएको हो ।
कहिले घरमा चोरी, कहिले विद्युत् पोलमा रहेको तार चोरी । चोरीका यस्ता घटना भइरहँदा पनि प्रहरीको सक्रियता भने अपेक्षाकृत देखिन नसकेको स्थानीयको गुनासो छ ।
विशेषगरी रातको समयमा प्रहरीको गस्ती कमजोर हुँदा चोरी तथा अन्य अवैध गतिविधिमा संलग्न समूहले मौका पाइरहेको स्थानीयको भनाइ छ । प्रहरी कार्यालयको पछाडितर्फ नै तार चोरी गर्ने समूह सक्रिय देखिनुले सुरक्षा व्यवस्थाको वास्तविक अवस्था झन् उदाङ्गो पारेको उनीहरूको दाबी छ ।
वडा प्रहरी कार्यालय बिर्ता आफैंमा वीरगञ्जको महत्वपूर्ण प्रहरी इकाइ हो । सीमा क्षेत्र र मुख्य बजार क्षेत्रको सुरक्षामा यसको भूमिका महत्वपूर्ण मानिन्छ । यस्तो संवेदनशील क्षेत्रको सुरक्षाको जिम्मेवारी पाएको कार्यालयकै आसपासमा चोरीका गतिविधि हुनुले प्रहरीको निगरानी प्रणालीमाथि प्रश्न उठ्नु स्वाभाविक देखिन्छ ।
चोरी हुनुअघि नै शंकास्पद गतिविधि नियन्त्रण गर्नु प्रहरीको जिम्मेवारी हो । तर प्रहरी कार्यालयबाटै केही दूरीमा चोरीका घटना भइरहनु र चोरी गर्ने समूह सक्रिय रहनुले प्रहरीको रात्री गस्ती र सूचना संयन्त्र प्रभावकारी छ कि छैन भन्ने प्रश्न उठेको छ ।
प्रहरीको नाकमुनि लगातार चोरीका घटना भइरहँदा स्थानीयस्तरमा अर्को गम्भीर प्रश्न पनि उठ्न थालेको छ ।यो प्रहरीको नक्कामापन मात्रै हो कि चोरी तथा तस्करीमा संलग्न समूहसँग कुनै प्रकारको साँठगाँठ ?
स्थानीयका केही व्यक्तिले प्रहरी र चोरी–तस्करीमा संलग्न समूहबीच ‘सेटिङ’ हुनसक्ने आशंका व्यक्त गरेका छन् । तर यस्तो आरोपको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ । त्यसैले आरोपको वास्तविकता पत्ता लगाउन सम्बन्धित निकायबाट निष्पक्ष छानबिन आवश्यक देखिन्छ ।
यदि प्रहरीको कमजोरीका कारण चोरी भइरहेको हो भने प्रहरी प्रशासनले तत्काल आफ्नो गस्ती र निगरानी प्रणाली सुधार गर्नुपर्ने हुन्छ । र यदि कसैको मिलेमतो वा संरक्षणमा यस्ता गतिविधि भइरहेको हो भने त्यसमा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने हुन्छ ।
वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख इन्स्पेक्टर विक्रम सुवेदीको नेतृत्वमा सुरक्षा व्यवस्था सञ्चालन भइरहेका बेला कार्यालयकै आसपासमा चोरीका गतिविधि देखिनुले उनको कार्यशैलीमाथि समेत प्रश्न उठेको छ ।
स्थानीयस्तरमा भने सुवेदीको भूमिका सुरक्षा व्यवस्थाभन्दा प्रचारमुखी गतिविधिमा बढी केन्द्रित भएको आरोपसमेत सुनिन थालेको छ । प्रहरी प्रमुखको प्राथमिकता अपराध नियन्त्रण, गस्ती र नागरिकको सुरक्षा हुनुपर्नेमा स्थानीयले त्यहीअनुसारको प्रभावकारी उपस्थिति महसुस गर्न नसकेको गुनासो गरेका छन् ।
यद्यपि, इन्स्पेक्टर सुवेदीमाथि लगाइएका आरोपहरूको सत्यता पुष्टि गर्न सम्बन्धित प्रहरी अधिकारीको आधिकारिक धारणा र घटनासम्बन्धी तथ्य आवश्यक छ ।
सरकारको निर्देशन कागजमै सीमित ?
नेपाल सरकारले चोरी, पैठारी तथा अवैध गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायलाई स्पष्ट निर्देशन दिँदै आएको छ । तर स्थानीयस्तरमा प्रहरीको कार्यसम्पादन कमजोर देखिएमा सरकारी निर्देशन व्यवहारमा कति कार्यान्वयन भइरहेको छ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।
चोरी पैठारी हुन नदिने सरकारको नीति एकातिर, प्रहरी कार्यालयकै आसपासमा चोरीका गतिविधि अर्कोतिर।
यस्तो अवस्थाले सरकारको नीति र स्थानीय प्रहरीको कार्यशैलीबीच कति तालमेल छ भन्ने विषयमा समेत बहस आवश्यक बनाएको छ ।
अब प्रहरी प्रशासनले जवाफ दिनुपर्ने प्रश्न।
वडा प्रहरी कार्यालय बिर्ताको जिम्मेवारी क्षेत्रमै चोरीका घटना दोहोरिन थालेपछि अब प्रहरी प्रशासनले केही प्रश्नको जवाफ दिनुपर्ने देखिन्छ ।
रातको समयमा प्रहरी गस्ती कति हुन्छ ?
कुन–कुन क्षेत्रमा प्रहरी परिचालन हुन्छ ?
प्रहरी कार्यालय आसपासमा सीसीटीभी तथा निगरानीको अवस्था कस्तो छ ?
चोरीका घटनामा अहिलेसम्म कति व्यक्ति पक्राउ परेका छन् ?
चोरी नियन्त्रणका लागि प्रहरीको विशेष योजना के छ ?
र सबैभन्दा महत्वपूर्ण प्रहरी कार्यालयकै आसपासमा चोरी गर्ने गिरोह कसरी सक्रिय हुन पायो ?
यी प्रश्नको जवाफ अनुसन्धान र तथ्यसहित सार्वजनिक गर्नु प्रहरी प्रशासनको जिम्मेवारी हो ।
नागरिकको सुरक्षाका लागि खटिनुपर्ने प्रहरी नै रातको समयमा निष्क्रिय देखिन थाल्यो भने त्यसले अपराधीको मनोबल बढाउने मात्र होइन, प्रहरीप्रतिको नागरिकको विश्वाससमेत कमजोर बनाउने खतरा हुन्छ ।
त्यसैले वडा प्रहरी कार्यालय बिर्ता क्षेत्रभित्र पछिल्लो समय देखिएका चोरीका घटनाबारे निष्पक्ष अनुसन्धान, प्रहरीको रात्री गस्तीको समीक्षा तथा चोरी–तस्करी नियन्त्रणमा प्रहरीको सम्भावित लापरवाही वा मिलेमतोबारे छानबिन आवश्यक देखिएको छ ।
प्रहरी कार्यालयकै नाकमुनि चोरी भइरहने हो भने नागरिकले सुरक्षा कहाँ खोज्ने ?
अब यो प्रश्नको जवाफ वडा प्रहरी कार्यालय बिर्ता मात्र होइन, जिल्ला प्रहरी कार्यालय पर्सा र सम्बन्धित प्रहरी नेतृत्वले समेत दिनुपर्ने बेला आएको छ ।