पर्सा २५ माघ ।
टि–२० विश्वकप २०२६ मा नेपालले जित नजिक पुगेर पनि हार व्यहोर्नु परेको छ। आफ्नो पहिलो खेलमै बलियो इङ्ल्यान्डविरुद्ध उत्कृष्ट संघर्ष गरेको नेपाल ४ रनले मात्र पराजित भयो। भारतको मुम्बईस्थित ऐतिहासिक वानखेडे रंगशालामा भएको यो खेल अन्तिम ओभरसम्म दर्शकलाई कुर्सीबाट उठ्न नदिने खालको रह्यो।
टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। १८५ रनको चुनौती पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा १० रन आवश्यक हुँदा नेपाल जित नजिक थियो, तर सेट ब्याटर लोकेश बम क्रिजमा रहेपनि नतिजा नेपाल पक्षमा आएन।
नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले आक्रामक सुरुवात दिलाए। तर चौथो ओभरमा आसिफ र छैटौं ओभरमा भुर्तेल आउट भएपछि नेपाल दबाबमा आयो। भुर्तेलले १७ बलमा २९ रन बनाउँदै ४ चौका र १ छक्का प्रहार गरे।
त्यसपछि कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले इनिङ्स सम्हाल्दै खेललाई रोमाञ्चक बनाएका थिए। दीपेन्द्रले ४४ रन बनाउँदै एक ऐतिहासिक उपलब्धि पनि हासिल गरे। उनी टी–२० अन्तर्राष्ट्रियमा २ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने। रोहितले ३९ रनको महत्वपूर्ण योगदान दिए भने लोकेश बम अन्त्यसम्म ३९ रनमा अविजित रहे।
बलिङतर्फ इङ्ल्यान्डका लागि लियम डसनले २ विकेट लिए भने आर्चर, वुड, विल ज्याक्स र सैम करनले एक–एक विकेट हात पारे। यसअघि इङ्ल्यान्डको सुरुवात कमजोर रह्यो। दोस्रो ओभरमै फिल साल्ट आउट भए भने जोस बटलर पनि पाँचौं ओभरमै पभेलियन फर्किए। तर ज्याकब बेथेल (५५) र कप्तान ह्यारी ब्रुक (५३) ले अर्धशतक प्रहार गर्दै इङ्ल्यान्डलाई मजबुत स्कोरसम्म पुर्याए। विल ज्याक्स ३९ रनमा अविजित रहे। नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले दुई–दुई विकेट लिए भने सन्दीप लामिछाने र शेर मल्लले एक–एक विकेट झारे। हार भए पनि नेपालको प्रदर्शनले विश्व क्रिकेटमा आफ्नो उपस्थितिलाई बलियो सन्देश दिएको छ।
देश
विविध
हेडलाइन
वानखेडेमा सास रोकिने खेल, नेपाल ४ रनले इङ्ल्यान्डसँग पराजित।
- २६ माघ २०८२, आईतवार
- 285 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
हिन्दू–मुस्लिम सद्भावको सन्देश फैलाउँदै कांग्रेस नेता साहबुद्दिन, शक्तिपीठदेखि मन्दिरसम्म
४ कार्तिक २०८३, मंगलवार
प्रदेश २, विविध, हेडलाइन
SIP कागजमै सीमित नराख्न जोड, विद्यालय सुधारका लागि सरोकारवालाबीच
२२ आश्विन २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार