काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सोमवार युरेपेली देशहरुको भ्रमण छोट्याएर स्वदेश फर्किएका छन ।
नेता नेपालले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बताएका हुन् ।
सरकारको जग्गा सरकारकै नाममा हुनुपर्छ भनेर सफा मनशायले ७ रोपनी जग्गा सरकारको नाममा फिर्ता गरेको र कसैलाई मुआब्जा नदिकन कानूनसम्मत ढंगले छुट्याएर काम गरेको नेता नेपालकाे जिकिर रहेकाे थियाे ।
अध्यक्ष नेपालले आफू पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन जाने अघिल्लो दिन सर्वोच्च अदालतले आफूमाथि अनुसन्धान गर्न आदेश दिएको तर पूर्वनिर्धारित कार्यक्रममा गएपछि सञ्चारमाध्यमहरुले आफू भागेको भ्रम फैलाएको आरोप लगाए ।
आफू गोली हान्न लाग्दासमेत नभागेको भन्दै अनुसन्धान गर्ने कुराले नभाग्ने बताए । उनले आफूले कुनै गलत काम नगरेको भन्दै चुनौतिको सामना गरेर अघि बढ्ने बताए । जग्गा प्रकरणको छानबिनमा आफ्नो सहयोग रहने नेता नेपालले बताए ।
आफूले कुनै बदमासी गरेको नगरेकाे भन्दै उनले थपे, ‘अपराध, भ्रष्टाचार, लेनदेन गरेको छैन, त्यसैले म आत्तिएको छैन । तर चित्त दुखेको छ, केही गरौँ भन्यो के हुन्छ । केही गरेर देखाएको पनि हो । त्यसमा गर्व छ । बालुवाटारको प्रकरणमा पनि भन्ने हो भने निवासमा कोही जाने हो भने हेर्न र भन्नसक्छ । त्यो काम कुन प्रधानमन्त्रीको पालामा शुरु भयो भन्दा सम्भवतः मेरो नाम अग्रपंतिमा आउनेछ । केही बदमासी भएको छ भने छानबिन होस् । मेरो सहयोगी भुमिका रहनेछ । तर मैले नितान्त असल मनशायले काम गरेको हुँ । सरकारी जग्गा र अन्य प्रकारको जग्गा कानूनसम्मत लाग्ने छुट्याएर गर्ने भनिएको हो । मेरो कुनै पनि गलत कार्यमा संलग्नता नरहेको उनले प्रष्टयाए ।
अध्यक्ष नेपाल साउन २२ गते स्वीजरल्याण्ड, स्पेन, क्रोशिया र युनाइटेड किङडम (युके) लगायतका युरोपेली मुलुकको भ्रमणमा निस्किएका थिए । तर साउन २१ गते सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय डा.बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि पनि अनुसन्धान गर्न आदेश दिएको थियो । सोही प्रसंगपछि आफू विदेश जानु र अदालतको आदेश आउनु संयोग भएको र आफू पूर्वनिर्धारित कार्यक्रमअनुसार विदेश भ्रमणमा गएको तर नभागेकाे उनले प्रष्ट्याए ।