परवानीपुर, २० असार ।
बाराको परवानीपुर गाउँपालिकाको आयोजनामा र सहयोगी नेपालको संयोजनमा सोमबार (२० गते) परवानीपुर बजारमा सार्वजनिक सुनुवाई कार्यक्रम शौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। परवानीपुर गाउँपालिका वडा नं.-३ का वडा अध्यक्ष इब्राहिम मिया धोवीको अध्यक्षतामा र गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मिको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
सार्वजनिक सुनुवाई कार्यक्रममा परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार, नेकपा एमाले प्रदेश कमिटि सदस्यहरु उमेश गुप्ता, रामपाल यादव, परवानीपुर गाउँपालिका वडा नं. ४ का पूर्व वडाअध्यक्ष गजेन्द्र प्रसाद पटेल, वडा नं. २ का पूर्व वडा अध्यक्ष ईशवरी प्रसाद साह तेली, कार्यपालिका सदस्य जगदिश राम, स्थानीय यासिन मियाँ र भदई मिया लगायतको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको संयोजन सहयोगी नेपालका अभियान्ता पत्रकार द्वय के.सी. लामिछाने र रितेश त्रिपाठीले गर्नुभएको थियो।
सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय स्तरबाट व्यक्ति गरिएका राय सुझाव र गुनासाहरुको विषयमा प्रकाश पार्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले वडावासीहरुले शिक्षा, स्वास्थ्य, खेलकुद, तथा वातावरणका विषयमा राखेका राय सुझाव तथा गुनासाहरु प्रति आफुहरु सचेत रहेकोले सम्बोधन गर्दै जाने प्रतिबद्धता जनाउनु भएको थियो। समस्याहरु प्रतिः “हामी सचेत छौ, बुझेका पनि छौ र सम्बोधन गर्दै जाने छौं”, बताउनुभएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रौनियारले वडा वासीहरुबाट आएका महत्वपूर्ण राय सुझाव र गुनासाहरु सम्बन्धि टिपोर्ट सुनाउँदै केही समस्याहरु जस्तै शिक्षा सम्बन्धिलाई हामी तत्कालै र अरु समस्याहरुलाई पनि विस्तारै समाधान गर्दै जाने बताउनु भयो ।
नेकपा एमाले प्रदेश कमिटि सदस्य उमेश गुप्ताले कृषि प्रधान देश भएता पनि कृषहरु नै रासायनिक मल लगायतका समस्याहरुबाट प्रताडित रहेकाले त्यसको समाधान हुनु पर्ने र सहज वातावरण कृषि जन्य उत्पादन गर्न प्रोत्साहन गर्नुपर्ने जोडदार माग गर्नुभएको थियो।
अर्का प्रदेश कमिटि सदस्य रामपाल यादव स्थानीय समसामायिक विषयमा आफ्नो राय सुझाव प्रस्तुत गर्नुभयो। कार्यक्रममा परवानीपुर गाउँपालिका वडा नं. ४ का पूर्व वडाअध्यक्ष गजेन्द्र प्रसाद पटेलले पनि स्थानीय स्तरबाट शिक्षा, स्वास्थ्य, खेलकुद तथा धर्म सांस्कार, संस्कृतिकलाई सभ्य र भव्य बनाउन स्थानीय सरकार सधैं तत्पर रहनु पर्ने धारणा व्यक्त गर्नुभएको थियो।यस्तै कार्यक्रम यस अघि १९ गते परवानीपुर गाउँपालिका वडा नं. ४ चैनपुरविर्ताको वडा कार्यालय अगाडी आयोजना गरिएको थियो।