March 1, 2026
Parsa, Nepal
देश समाज हेडलाइन

आदर्शनगर छापामारी विवादमा, व्यापारी र सुरक्षाकर्मी आमनेसामने

वीरगंज २६ माघ । वीरगञ्ज महानगरपालिकाको आदर्शनगरस्थित दुर्गा ट्रान्सपोर्टको प्रयोगमा रहेको एक गोदाममा सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा मारेको छ। विशेष सूचनाका आधारमा गरिएको यस कारबाहीले केही समयका लागि क्षेत्रलाई तनावग्रस्त बनाएको थियो।
सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा बल, वीरगञ्ज भन्सारमा कार्यरत नायब उपरीक्षक विकास अधिकारीका अनुसार गोदाममा खानतलासी सुरु गर्ने क्रममा स्थानीय व्यापारीहरूले कडा विरोध जनाएका थिए। विरोध बढ्दै जाँदा अवस्था नियन्त्रणबाहिर जान थालेको बताइएको छ।

व्यापारी पक्षले भने गोदाममा राखिएका सामानहरू दुर्गा ट्रान्सपोर्टमार्फत ढुवानी गरिएका र सबैको बिलबिजक स्पष्ट रहेको दाबी गरेका छन्। “कागजात देखाउँदा पनि सामान जफत गर्न खोजियो, त्यसैले विरोध गर्नुपर्‍यो,” एक व्यापारीले आक्रोश पोख्दै बताए।
तनाव चर्किएपछि आक्रोशित समूहले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा गरेपछि झडप सुरु भएको सशस्त्र प्रहरीले जनाएको छ। ढुङ्गा प्रहारबाट सशस्त्र प्रहरी प्रयोगमा रहेको गाडीको अगाडिको सिसा फुट्नुका साथै एक जना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन्। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
छापामारीका क्रममा गोदामबाट ठूलो परिमाणमा सामान नियन्त्रणमा लिइएको भए पनि त्यसको विस्तृत विवरण हालसम्म सार्वजनिक गरिएको छैन। “सामानको लगत संकलन, मुचुल्का उठाउने प्रक्रिया जारी छ। गोदामको स्वामित्व र सामानको कानुनी अवस्थाबारे थप अनुसन्धान भइरहेको छ,” नायब उपरीक्षक अधिकारीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *