April 7, 2026
Parsa, Nepal
देश प्रदेश २ हेडलाइन

मधेशवादि दलकाे सरकारसँग सम्बन्ध चिसिँदै ।मन्त्री नटेरेपछि मधेशका दुई दल सरकारबाट बाहिरिने तयारीमा

काठमाडौं १३ भदाै।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मधेशका दुई दलसँगको सम्बन्ध जोगाउन नसक्ने संकेत देखिन थालेको छ। आफ्नै मन्त्रीले पार्टीको निर्देशन नमानेपछि जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवै सरकारबाट बाहिरिने तयारीमा छन्।
जसपाले महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह र खानेपानीमन्त्री प्रदीप यादवलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। तर दुवै मन्त्रीले ११ भदौसम्ममा राजीनामा दिनुपर्ने निर्देशन मान्न अस्वीकार गरे। जसपाले नयाँ मन्त्रीका लागि सांसद डा.वीरेन्द्र महतो र रञ्जु झाको नाम सिफारिस गरे पनि प्रधानमन्त्रीले चासो नदिएकै कारण असन्तुष्टि झनै बढेको छ।
पार्टीले स्पष्ट निर्णय गर्‍यो तर मन्त्रीले सुनेनन् प्रधानमन्त्रीले पनि ध्यान दिएनन्, जसपाका एक पदाधिकारीले भने, त्यसैले हामी सरकारलाई समर्थन गर्ने तर मन्त्रालयमा नबस्ने तर्फ लागेका छौं। उता लोसपामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई हटाएर सर्वेन्द्रनाथ शुक्लालाई पठाउने तयारी भए पनि त्यहाँ पनि प्रधानमन्त्रीको ढिलाइले असन्तोष चुलिएको छ। पार्टी अध्यक्ष महन्थ ठाकुरले पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको नेताहरू बताउँछन्।
यसरी मधेशवादी दलहरूले समर्थन कायम राखे पनि सरकारसँगको सम्बन्ध तातो रहन नसकेको छ। ओली नेतृत्वको ढिलासुस्ती र मन्त्रीहरूको हठका कारण दलहरू आफ्नै हैसियत जोगाउन “सरकारसँग दूरी” रोज्न थालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *