April 15, 2026
Parsa, Nepal
देश प्रदेश २ राजनिती हेडलाइन

ओली विरोधबाट सीट सुरक्षित गर्दै प्रदीप, ‘Gen Z’ कार्ड खेल्दै रिमा: पर्सामा एमालेको दुईतरफे रणनीति

वीरगंज २८ माघ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मुलुककै चर्चित र ‘स्टार प्रचारक’ नेतामध्ये एक हुन्। तर यही ओलीको तस्वीर पर्सा जिल्लाका एमाले उम्मेदवारहरूको चुनावी पोस्टरमा नदेखिनु अहिले राजनीतिक वृत्तमा चासो र बहसको विषय बनेको छ।
सामान्यतया चुनावी माहोलमा पार्टी अध्यक्षको तस्वीर उम्मेदवारको शक्ति र पहिचानको प्रतीक मानिन्छ । तर पर्सा निर्वाचन क्षेत्र नं. १ र २ मा एमाले उम्मेदवारहरूले ओलीको तस्वीर प्रयोग नगर्नु केवल संयोग मात्र हो त ? वा यसले गहिरो राजनीतिक असजिलोपनको संकेत गर्छ।
पर्सा–१: प्रदीप यादव र मधेशको कठिन गणित

प्रदिप यादव
उम्मेदवार पर्सा १

पर्सा निर्वाचन क्षेत्र नं. १ का एमाले उम्मेदवार प्रदीप यादव विगतमा विभिन्न मधेशवादी दल परित्याग गर्दै एमाले प्रवेश गरेका नेता हुन्। उनी मधेश राजनीतिमा लामो समय सक्रिय रहे पनि, उनको राजनीतिक यात्रामा एउटा साझा पृष्ठभूमि देखिन्छ ओली नेतृत्वको एमाले र मधेश आन्दोलनबीचको तीखो टकराव।
मधेश आन्दोलनका समयमा ओली र एमालेमाथि मधेशविरोधी छवि निर्माण भएको थियो। सीमामा नाकाबन्दी, भाषणहरू र राजनीतिक अडानका कारण आज पनि मधेशका धेरै मतदातामा ओलीप्रति नकारात्मक धारणा कायम छ। यही कारणले प्रदीप यादवले विगतमा ओली र एमालेको तीव्र आलोचना गर्दै आफ्ना निर्वाचन क्षेत्र सुरक्षित गर्दै आएका थिए।
तर यसपटक परिस्थिति फरक छ। एमालेको टिकट पाएपछि उनी पार्टी अनुशासनभित्र त छन्, तर ओलीको तस्वीर बोकेको पोस्टर बोकेर गाउँ–टोल पस्दा मतदाताको प्रतिक्रिया कस्तो आउला ? भन्ने डर उनीभित्र देखिन्छ। राजनीतिक विश्लेषकहरू भन्छन् यो डर नै ओलीको तस्वीर पोस्टरबाट हट्नुको मुख्य कारण हो।
पर्सा–२: रिमा देवी यादव र ‘पहुंचको राजनीति’

रिमा कुमारी यादव
उम्मेदवार पर्सा क्षेत्र २

पर्सा निर्वाचन क्षेत्र नं. २ की एमाले उम्मेदवार रिमा देवी यादवको राजनीतिक पृष्ठभूमि भने झन् फरक छ। उनी स्वयं सक्रिय राजनीतिमा लामो अनुभव भएकी नेतृ होइनन्। पार्टीभित्रै पनि उनको उम्मेदवारीलाई लिएर सुरुबाटै प्रश्न उठ्दै आएको थियो।
चर्चा अनुसार, रिमा देवी यादवले टिकट पाउनुको प्रमुख कारण उनका श्रीमान् पदुमन यादवको राजनीतिक पहुँच र सम्बन्धलाई मानिन्छ। यही कारणले उनी ‘ग्रासरुट लिडर’ भन्दा पनि पार्टी व्यवस्थापनबाट आएको उम्मेदवारको रूपमा हेरिन्छिन्।
यस्तो अवस्थामा ओलीको तस्वीर प्रयोग गर्नु उनको लागि थप बोझ बन्न सक्छ। किनकि उनी आफैं परिचित अनुहार नभएको अवस्थामा, ओलीको नाम र तस्वीरले मधेशमा नकारात्मक प्रतिक्रिया ल्याउने डर झन् बढी देखिन्छ।
एमालेभित्र औपचारिक रूपमा कसैले ओलीको तस्वीर प्रयोग गर्न नपाइने निर्णय भएको छैन। तर पर्साका यी दुई क्षेत्रका उम्मेदवारहरूले मौन रूपमा एउटै रणनीति अपनाएका छन् स्थानीय मुद्दा, व्यक्तिगत परिचय र स्थानीय नेटवर्कमा केन्द्रित प्रचार।
यो अवस्थाले एउटा गम्भीर प्रश्न खडा गर्छ के पर्सामा एमाले उम्मेदवारहरू ओलीको नाम र तस्वीरलाई ‘एसेट’ होइन ‘लायबिलिटी’ ठान्न थालेका हुन् ? राजनीतिक विश्लेषकहरूका अनुसार, यो अवस्था केवल उम्मेदवारको कमजोरी होइन, बरु मधेशमा एमालेले अझै पनि विश्वासको दूरी घटाउन नसकेको यथार्थ हो।
पर्सामा ओलीको तस्वीरबिनाको चुनावी पोस्टरले एउटा स्पष्ट सन्देश दिन्छ राजनीति केवल पार्टीको हैसियतले मात्र जितिँदैन, इतिहास, भावना र स्थानीय स्मृतिले पनि मतदानलाई दिशा दिन्छ।
अब प्रश्न बाँकी छ ओलीको तस्वीर नबोकी लडिएको यो चुनाव एमाले उम्मेदवारका लागि सफल रणनीति सावित हुन्छ, कि पार्टी र नेतृत्वबीचको दूरी झन् प्रष्ट पार्ने प्रमाण ? यसको जवाफ भने मतपेटिकाले दिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *