वीरगञ्ज २१ फागुन ।
निर्वाचनको पूर्वसन्ध्यामा भएका दुई छुट्टाछुट्टै घटनाले केही समय पर्सावासीलाई चिन्तित बनाएको भए पनि आज भने कडा सुरक्षा व्यवस्थाबीच जिल्लाभर शान्तिपूर्ण वातावरणमा मतदान प्रक्रिया सञ्चालन भइरहेको छ। सुरक्षा निकायको उच्च सतर्कता र समन्वयका कारण सम्भावित जोखिम नियन्त्रणमा आउँदा मतदाताहरू निर्धक्क भएर मतदान केन्द्रमा पुगिरहेका छन्।
हिजो जिल्लाका विभिन्न स्थानमा भएका दुई घटनाले चुनावी वातावरण केही समय तातेको थियो तर जिल्ला प्रशासन र सुरक्षा निकायले तुरुन्तै निगरानी बढाएपछि अवस्था सामान्य बनेको हो। त्यसयता सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउँदै जिल्लाभर व्यापक गस्ती र निगरानी बढाइएको छ।
मतदानलाई सुरक्षित बनाउन निर्वाचनको पूर्वसन्ध्यादेखि नै जिल्लाका मुख्य चोक, नाका तथा सडकहरूमा सवारी साधनको कडाइका साथ जाँच भइरहेको छ। पास बिना सञ्चालनमा रहेका सवारी साधनहरूलाई ठाउँ–ठाउँमा रोक्दै जाँच गर्ने तथा आवश्यक परे नियन्त्रणमा लिने काम सुरक्षा निकायले गरिरहेको छ।

पर्सामा निर्वाचन सुरक्षाका लागि चार तहको सुरक्षा घेरा पूर्ण रूपमा सक्रिय बनाइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागबीच समन्वय गरेर मतदान स्थल तथा आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको हो। संवेदनशील तथा अति संवेदनशील मतदान केन्द्रहरूमा थप सुरक्षा जनशक्ति परिचालन गरिएको छ।
सुरक्षा व्यवस्थाका कारण मतदाताहरू उत्साहपूर्वक मतदान केन्द्र पुगिरहेका छन्। विशेषगरी महिलाहरू पनि भयरहित वातावरणमा लामबद्ध भएर मताधिकार प्रयोग गरिरहेका देखिन्छन्। कतिपय मतदान केन्द्रहरूमा बिहानैदेखि महिला मतदाताको उल्लेखनीय उपस्थिति देखिएको छ।
स्थानीय प्रशासनका अनुसार हालसम्म जिल्लाभर मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा अघि बढिरहेको छ। सुरक्षा निकायको सतर्कता र नागरिकको सहभागिताले पर्सामा निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न हुने विश्वास बढेको छ।