वीरगंज । किर्ते नागरिकता छानबिन गरिरहेको जिल्ला प्रहरी, जिल्ला प्रशासन कार्यालयले आलटाल गरिरहेको भन्दै सचेत नागरिक समाजले मसाल जुलुस प्रदर्शन गरेका छन ।
मेयर सिंहलाई पक्राउ गरी कारबाही गर्नुपर्ने मागसहित सचेत नागरिक समाज वीरगंजले मसाल जुलुस निकालेको हो ।
किर्ते नागरिकतामा दोषी देखिएका मेयरलाई छानबिन गर्न नागरिक समाज वीरगंजले निरन्तर प्रदर्शन गर्दै आएको छ । वीरगंजको लाठगल्लीबाट निकालिएको मसाल जुलुसलाई घण्टाघर, माईस्थान लगायतको विभिन्न स्थानमा प्रहरीले हस्तक्षेप गरेको थियो ।
हुँदै नभएको छोरीलाई नागरिकता दिने मेयर विरुद्ध चरणबद्ध रुपमा नगर परिक्रमा, विरोध प्रदर्शन, सिठी जुलुस लगायत प्रदर्शन सचेत नागरिक समाजले गर्दै आएको छ ।

नेपाली काग्रेसका नेता माेहम्मद सहाबुदिनकाे अध्यक्षतामा शुक्रबार निकालिएकाे मसाल जुलुसमा वडा नम्बर १ का वडा अध्यक्ष तथा जसपा नेता मनोज राउत कुर्मी, वडा नम्बर २० का वडा अध्यक्ष तथा ऐमाले नेता रामकिशोर सिंह पराग, जनमत पार्टीका नेता मुकेश द्विवेदी, शशिकपुर मिया, पुर्व कृषिमन्त्री करिमा बेगम, नगमा बेगम एमालेका नेता लियाकत अलि, नेपाली कांग्रेसबाट अनिल सिंह, नेविसंघका सभापति रमेश यादव लगायत स्थानीयवासी सहभागी थिए ।

मेयर सिंहले नक्कली बाबु बनेर रुबिना श्रेष्ठ नाम गरेकी युवतिलाई नागरिकता दिलाएको विषय खुलासा भएपछि मेयर सिंह बिरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालयमा छुट्टा–छुट्टै गरी १६ जनाले जाहेरी दिइसकेका छन ।