वीरगंज १३ पुस । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा एक जना मन्त्रीको गाडीमा आगो लगाइदिएका छन् ।
उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । उक्त गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेका थिए । मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो झोसेका थिए ।
ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले भने, ‘गाडीमा आगो लगाएको खबर आएको छ, प्रहरी टोली पनि त्यहाँ पुगेको छ ।’
प्रदर्शनकारीले सडक पनि अबरुद्ध पारेका छन् । अहिले बालकुमारी क्षेत्र तनावग्रस्त छ ।
प्रर्दशनमा प्रहरीको गोलि लागेर किष्ट अस्पतालमा उपचारत २३ वर्षीय सुजन राउतको उपचारका क्रममा निधन भएको अस्पतालले पुष्टि गरेको छ । गोली लागि अर्को एक जना गंभिर घाइते भएका छन् । उनको उपचार भइरहेको अस्पताले जनाएको छ।
यस्तै घटनामा परी घाइते भएका २२ वर्षीय वीरेन्द्र शाहको पनि मृत्यु भएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, डिआइजी कुवेर कडायतले बताए।
पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने इपिएस कार्यालयले जनाएको थियो । पानी जहाजमा परीक्षा दिएका तर अनुत्तीर्णले फर्म भर्न नपाउने निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए ।
उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो । इपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो । अरु विद्यार्थीले फर्म भर्न नपाउने स्थिति भएपछि विरोध प्रदर्शन भएको हो ।