वीरगंज १९ माघ ।
कहिले अरूलाई निषेधको राजनीतिबाट कमजोर बनाएका पूर्व मन्त्री प्रदीप यादव अहिले त्यही राजनीतिका सिकार बन्दै गएका छन्। २०६३ सालदेखि मधेश केन्द्रित दल हुँदै संघीय राजनीतिसम्म आइपुगेका यादवले पछिल्लो पटक मधेशी दलबाट टिकट नपाएपछि सार्वजनिक गालीगलौज गर्दै एमाले प्रवेश गरि टिकट लिएसँगै पर्सामा उनको राजनीतिक धरातल कमजोर बन्दै गएको देखिएको छ।
राजनीतिक जीवनको लामो यात्रामा विभिन्न दल र धार परिवर्तन गर्दै आएका प्रदीप यादव पछिल्लो समय पर्सा–१ मा अलोकप्रिय बन्दै गएका छन्। विगतमा आफूविरुद्ध उभिने राजनीतिक शक्ति, कार्यकर्ता र क्षेत्रलाई निषेध गर्ने शैली अपनाएको आरोप खेप्दै आएका यादवमाथि यसपटक त्यही रणनीति उल्टो परिरहेको स्थानीयको भनाइ छ।
उनकै ‘भोट बैंक’ मानिँदै आएको नगवा–मुर्ली क्षेत्रमा हालै भएको नाराबाजी, कालो मोसो दल्ने प्रयास र विरोध प्रदर्शनका भिडियोहरू सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएका छन्। ती दृश्यहरूले स्थानीय स्तरमा उनको समर्थन कमजोर हुँदै गएको संकेत गरेको राजनीतिक विश्लेषकहरू बताउँछन्।
स्थानीय बासिन्दाहरूका अनुसार, “विगतमा अरूलाई अपमान गर्ने र बाहिर राख्ने राजनीतिले अहिले यादवलाई नै घेरिरहेको छ।” खासगरी मधेशी पहिचान र मुद्दाबाट राजनीति गर्दै आएका यादवले एमाले रोजेपछि मधेशी मतदातामा असन्तोष चुलिएको देखिन्छ।
वर्तमान असन्तोष, विरोध र नकारात्मक धारणा यथावत् रहिरहेमा प्रदीप यादवका लागि चुनावी यात्रा सहज देखिँदैन।
खासगरी मधेशी मत विभाजन होइन, सरासर खस्ने जोखिम देखिएको छ। यद्यपि, संगठन बलियो बनाउने, जनतासँग प्रत्यक्ष संवाद गर्ने र विवादलाई नियन्त्रण गर्न सके मात्र उनले क्षति कम गर्न सक्ने अवस्था छ।
अहिलेको माहोल हेर्दा, निषेधको राजनीति गरेर उभिएका यादव आफैं निषेधको घेरामा पर्न थालेका छन् भन्ने सन्देश पर्साको राजनीतिमा गहिरिँदै गएको छ।