वीरगंज ९ माघ। नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिले आज ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा औपचारिक रूपमा पदभार ग्रहण गरेको छ। पदभार ग्रहण कार्यक्रममा पार्टी सभापति गगनकुमार थापा, पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यभार सम्हालेपछि सम्बोधन गर्दै सभापति थापाले पार्टी नेतृत्व सम्हाल्नु गौरवपूर्ण तर अत्यन्त जिम्मेवारीपूर्ण कार्य भएको बताए। उनले भने,
“बी.पी. कोइरालाको कुर्सीमा बस्न सजिलो रहेछ, तर त्यो कुर्सीले बोकेको जिम्मेवारी असाध्यै ठूलो रहेछ। यो केवल पद होइन, परिवर्तन र भरोसाको जिम्मा हो।”
गगन थापाले कांग्रेसलाई समयअनुसार रूपान्तरण गर्दै जनताको अपेक्षा अनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले पार्टीलाई एकताबद्ध, पारदर्शी र जनमुखी बनाउने लक्ष्यसहित नयाँ यात्रा सुरु भएको उल्लेख गरे।
यसअघि सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले आगामी प्रतिनिधि सभा निर्वाचनपछि बन्ने सरकारका लागि पार्टीको तर्फबाट गगन थापालाई भावी प्रधानमन्त्री उम्मेदवार बनाउने निर्णय सर्वसम्मत रूपमा पारित गरेको थियो। उक्त प्रस्ताव उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेका थिए भने उपसभापति पुष्पा भुसालले समर्थन गरेकी थिइन्।
बैठकले निर्वाचन लक्षित प्रचार–प्रसारलाई व्यवस्थित गर्न प्रवक्ता देवराज चालिसेको संयोजकत्वमा केन्द्रीय प्रचार–प्रसार समिति गठन गर्ने निर्णय पनि गरेको छ। साथै, पार्टी केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि कोषाध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ।
त्यसैगरी राष्ट्रिय सभा सदस्य निर्वाचनमा आवश्यक समन्वयको जिम्मेवारी उपसभापति पुष्पा भुसाललाई प्रदान गरिएको छ। पार्टी संगठन सुदृढीकरणका लागि केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।
उता, नवनिर्वाचित सभापति थापाले जारी गरेको सन्देशमा
“बदलौं कांग्रेस, बदलौं देश” भन्ने संकल्पसहित कांग्रेसलाई नयाँ युगतर्फ लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार, कांग्रेसभित्र नयाँ पुस्ताको नेतृत्वलाई औपचारिक रूपमा संस्थागत गर्दै आगामी निर्वाचनमा स्पष्ट राजनीतिक दाबी प्रस्तुत गर्ने दिशामा यो कदम निर्णायक मानिएको छ।