काठमाडौं २६ असाेज । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले राजधानी काठमाडौंबाट पक्राउ गरेको छ।
केही दिनअघि उनले संलग्न रहेको भनिएको ९ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान अघि बढिरहेको थियो। सोही क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयानका लागि बोलाइएका महरालाई प्रहरीले आज थप प्रमाण संकलनका क्रममा नियन्त्रणमा लिएको हो।
पुलिस स्रोतका अनुसार, भेपको बट्टाभित्र लुकाइएका सुनका टुक्रासहितको तस्करी घटनामा महराको प्रत्यक्ष भूमिका र सहयोग रहेको आशङ्कामा अनुसन्धान विस्तार गरिएको बताइएको छ।

हाल महरासँग प्रहरी अनुसन्धान शाखाले बयान लिइरहेको छ। प्रारम्भिक विवरण लिएपछि आवश्यक प्रमाण संकलन गरी उनलाई विशेष अदालतमा पेश गर्ने तयारी भइरहेको बुझिएको छ।
उपाध्यक्ष महरा विगतमा पनि विभिन्न विवादमा तानिँदै आएका थिए। तर, यस पटकको आरोप सुन तस्करीजस्तो गम्भीर अपराधसँग जोडिएको हुनाले राजनीतिक वृत्तमै ठूलो हलचल पैदा भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भेप प्रयोग गरी सुन भित्र्याउने कार्यमा संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग महरा र उनका छोरा राहुल महराबीच लगातार सम्पर्कमा रहेका र कल रेकर्डले त्यसलाई पुष्टि गरेको स्रोतले जनाएको छ।