वीरगंज २६ असाेज ।
डेढ महिनादेखि पर्सा र बारा जिल्लामा फैलिएको हैजा र झाडापखालाको जोखिम अझै उच्च रहँदा, नेपाल सरकारले असोज २६ गतेदेखि व्यापक हैजा विरुद्धको खोप अभियान सुरु गरेको छ।
वीरगञ्जस्थित जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित औपचारिक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले स्वास्थ्यकर्मीको हातबाट खोप खाएर अभियानको शुभारम्भ गरेका थिए ।
उनले खोप योग्य सबैलाई अनिवार्य रूपमा खोप लिन आग्रह गर्दै भने, “हाम्रो जिम्मेवारी आफैं मात्र होइन, परिवार र समुदायलाई सुरक्षित राख्ने हो।”
गत भदौ ६ गतेदेखि सुरु भएको हैजाको प्रकोप अझै नियन्त्रणमा नआएपछि यो अभियानलाई निर्णायक कदमको रूपमा हेरिएको छ।
स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार, असोज २६ देखि कात्तिक २ गतेसम्म सञ्चालन हुने अभियान अन्तर्गत ६ लाख ५४ हजार जनालाई ‘इयूभिकोल–एस’ खोप दिइने लक्ष्य राखिएको छ। एक वर्षमाथिका सबै व्यक्तिहरू यो अभियानको लक्षित समूहमा परेका छन्।
खोप अभियानका लागि जिल्लाका १४ पालिकामा १,९५० खोप केन्द्र स्थापना गरिएको छ। ती केन्द्रहरूमा वडा कार्यालय, स्थानीय निकायका कार्यालय, अस्पताल, विद्यालय, उद्योग, मन्दिर, मस्जिद, चर्च, गुम्बा, नेपाल–भारत सीमा नाका र बसपार्कसम्म समावेश गरिएको छ।
कुल १,८९४ जनशक्ति, जसमा १,५४४ जना महिला स्वास्थ्य स्वयंसेविका र ३५० जना स्वास्थ्यकर्मी छन्, खोप वितरणमा परिचालित भएका छन् । अधिकृत ठाकुरका अनुसार, यो प्रयासले “महामारी नियन्त्रणका साथै रोगको स्रोत पहिचान र रोकथाममा निर्णायक भूमिका खेल्नेछ।”
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप उपलब्ध गराउन अन्तर्राष्ट्रिय समन्वय समूह (ICG) सँग माग गरेको थियो। यो अभियान विश्व स्वास्थ्य सङ्गठन (WHO) र युनिसेफको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको छ।
परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले इयूभिकोल–एस खोप खाएको दुई सातापछि ८२ प्रतिशतसम्म प्रभावकारी हुने बताए। उनका अनुसार, “यो अभियानले पर्सा र बाराका हजारौं नागरिकलाई रोगको जोखिमबाट सुरक्षित राख्नेछ।”
अभियानको शुभारम्भ कार्यक्रममा स्वास्थ्य मन्त्रालयका अधिकारीहरू, प्रहरी प्रशासन, सशस्त्र प्रहरी, चिकित्सक संघका प्रतिनिधिहरू सहभागी थिए।
नेपाल चिकित्सक सङ्घ नारायणी शाखाका अध्यक्ष डा. मनोजकुमार गुप्ताले खोप सुरक्षित र प्रभावकारी भएको जनाउँदै सबैलाई निर्धक्क भएर खोप लिन आग्रह गरे।
स्वास्थ्य शाखाका प्रमुख डा. अभियान गौतमले तिहारअघि नै पर्सा र बाराका सबै पालिकामा अभियान सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए।
हाल पर्सामा २४५ जना हैजा संक्रमित उपचारपछि घर फर्किसकेका छन्। यद्यपि, संक्रमणको वास्तविक स्रोत अझै पत्ता लाग्न सकेको छैन। सरकारले पर्सा–बाराका लागि १० लाख १८ हजारभन्दा बढी डोज खोप विदेशबाट आयात गरेको छ।
छिमेकी बारा जिल्लामा असोज २९ गतेदेखि अभियान सुरु हुने बताइएको छ, जसमा कलैया, जीतपुरसिमरा, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर पालिकाहरू केन्द्रित रहनेछन्।
हैजा नियन्त्रणमा सरकारले चालिएको यो कदम केवल खोप अभियान मात्र होइन, राज्य र समुदायबीचको सहकार्यको परिक्षा पनि हो।
स्थानीय निकाय, स्वास्थ्यकर्मी, स्वयंसेविका र नागरिक सबैले आ–आफ्नो भूमिकालाई जिम्मेवारीका साथ पूरा गरे मात्र यो महामारीलाई पूर्ण रूपमा रोक्न सकिने विशेषज्ञहरूको निष्कर्ष छ।
प्रदेश २
समाज
स्वास्थ्य
हेडलाइन
पर्सा–बारामा हैजा नियन्त्रणका लागि व्यापक खोप अभियान सुरु, स्वास्थ्यकर्मी र स्थानीय निकाय पूर्ण सक्रिय
- २६ आश्विन २०८२, आईतवार
- 333 Views
Related Post
देश, प्रदेश २, राजनिती, हेडलाइन
नागरिकता मुद्दामा सहाबुदिनलाई अदालतबाट सफाइ, तर राजेशमान–सहाबुदिनबीच २० वर्षदेखिको
१८ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्सा–४ मा ठूलो उलटफेर: रास्वपाका टेकबहादुर शाक्य विजयी, पूर्व
२४ फाल्गुन २०८२, आईतवार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्साका चारै क्षेत्रमा रास्वपाको अग्रता, क्षेत्र नं. १ मा
२३ फाल्गुन २०८२, शनिबार
देश, राजनिती, हेडलाइन
पर्साका ४ वटै क्षेत्रमा रास्वपा अगाडि, कांग्रेस–एमाले पछि
२३ फाल्गुन २०८२, शनिबार