April 7, 2026
Parsa, Nepal
देश प्रदेश २ हेडलाइन

पर्सामा पहिलो पटक ड्रोनमार्फत भूमि नापजाँच, १० मिनेटमै महिनौंको काम सकियो

वीरगंज २३ श्रावन ।
पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका–२, रङ्गपुर टाडीमा नेपालमै पहिलो पटक ड्रोन प्रविधि प्रयोग गरी भूमि नापजाँच कार्य सम्पन्न गरिएको छ। भूमि समस्या समाधान आयोगको टोली, वरिष्ठ नापी अधिकृत तथा अनुगमन प्रमुख राजकुमार विश्वकर्माको नेतृत्वमा शुक्रबार नापजाँच सम्पन्न भएको हो।
आयोगका अध्यक्ष तबरेज अहमदका अनुसार भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या छिटो समाधान गर्न उच्चतम प्रविधि अपनाइएको हो। उनले भने, “पहिले पाँच जनाको टोलीलाई एक महिनासम्म लाग्ने काम ड्रोनको सहयोगले १० मिनेटमै पूरा भयो। यसले समय, श्रम र खर्च तीनै बचत गर्छ।”
यो प्रविधिको प्रयोग नेपालमै पहिलो भएको आयोगले जनाएको छ। आयोगका अनुसार ड्रोनबाट प्राप्त उच्च गुणस्तरको भू-तथ्यांकले दिगो समाधान योजना बनाउन सजिलो हुने अपेक्षा गरिएको छ।
नापजाँचको क्रममा भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमद, वडा अध्यक्ष विजय गैरे, आयोगका प्रशासन प्रमुख राजेन्द्र खड्का, नापी टोलीका सदस्य तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति थियो। स्थानीयवासीले प्रविधिको प्रयोगप्रति उत्साह देखाउँदै यसले पुराना विवाद र ढिलासुस्तीको अन्त्य हुने विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *